म्यादी जीवन बीमा योजना विशेषता र फाइदाहरु

म्यादी जीवन बीमा योजना विशेषता र फाइदाहरु

म्यादी जीवन बीमा योजना
तपाईले जीवन बीमा योजना खरिद गर्दा तीनवटा विकल्पमध्ये कुनै एउटा रोज्न सक्नुहुन्छः म्यादी, सावधिक र आजीवन । म्यादी जीवन बीमा योजनाले निश्चित अवधिसम्मको लागी जोखिम बहन सुविधा उपलब्ध गराउँछ । सामान्यता १ देखि ३० वर्षसम्मको म्यादी जीवन बीमा गर्न सकिन्छ । म्यादी बीमाले मुत्यु लाभ उपलब्ध गराउँछ, खासगरी घरमूलीको निधन भएको अवस्थामा परिवारका आश्रितहरुको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यो बीमा गरिएको हुन्छ । म्यादी बीमाको रकम कर्जा चुक्ता गर्न, छोराछोरीको पढाई वा दैनिक गुजारा चलाउनको लागी प्रयोग गर्न सकिन्छ ।

म्यादी बीमा मृत्यु लाभ बाहेक आंशिक वा पूर्ण स्थायी अपाङता, घातक रोग उपचार खर्चको सुविधा भएको विकल्प समेत रोज्न सकिन्छ ।
आंशिक वा पूर्ण स्थायी अपाङता सुविधा सहितको म्यादी बीमामा दुर्घटनाको कारण बीमितको कुनै अंग आंशिक वा पूर्णरुपमा क्षति पुगेमा बीमितलाई निश्चित रकम क्षतिपूर्ती उपलब्ध गराइन्छ ।

घातक रोगको उपचार सुविधा सहितको म्यादी बीमामा बीमा अवधिभित्र बीमितलाई पूर्व निर्धारितमध्ये कुनै एउटा रोग लागेमा उपचार खर्चवापत बीमांक बराबरको रकम भुक्तानी दिइन्छ ।

तपाई म्यादी बीमा योजना खरिद गर्ने विचार गर्दै हुनुहुन्छ भने, यहाँ यसको विशेषता र फाइदाहरुबारे उल्लेख गरिएको छ ।

म्यादी जीवन बीमाले कसरी काम गर्छ ?
म्यादी जीवन बीमा चालू रहेको अवस्थामै तपाईको निधन भयो भने, तपाईले इच्छ्याएको वा हकवालाले मृत्यु लाभ वापतको भुक्तानी प्राप्त गर्नेछन् । तपाईको निधन नभएको अवस्थामा भने मृत्यु लाभको भुक्तानी दिइनेछैन । र बीमाशुल्कको रकम पनि फिर्ता गरिनेछैन । कुनै कुनै म्यादी बीमा योजनामा मृत्यु दाबी भुक्तानी नभएको अवस्थामा बीमा अवधिपछि बीमाशुल्क फिर्ता गर्ने विकल्प पनि उपलब्ध गराइएको हुन्छ । सामान्य म्यादी बीमा योजनाको तुलनामा बीमाशुल्क फिर्ता गर्ने विकल्पसहितको बीमा योजनाको बीमाशुल्क तुलनात्करुपमा महँगो हुन्छ ।

बीमा अवधिको समाप्तीपछि के हुन्छ ?
तपाईको म्यादी जीवन बीमा नविकरण गर्न सकिने छ भने तपाईले थप अवधिको लागी नविकरण गर्न सक्नुहुन्छ । तपाईको बीमा योजना परिवर्तनयोग्य छ भने तपाईले म्यादीबाट सावधिक वा आजीवन बीमा योजनामा परिवर्तन् गर्न सक्नुहुन्छ । तर यो विकल्प सीमित मात्र उपलब्ध हुन्छ । यस्तो विकल्प उपलब्ध रहे नरहेको बारे आफ्नो अभिकर्तासँग जानकारी लिनुहोस् ।
म्यादी बीमाको म्याद सकिए पछि तपाईले नविकरण बीमाशुल्क तिर्नुपर्ने हुन्छ । १ वर्षे अवधिको म्यादी बीमाको अवधि समाप्त भएपनि नयाँ म्यादी बीमा खरिद गर्नुपर्छ । पहिलो वर्षको तुलनामा दोश्रो वर्ष तपाईको उमेरको कारणले बीमाशुल्क थोरै बढी हुनसक्छ ।

म्यादी जीवन बीमाको शुल्क कति तिर्नुपर्छ ?
म्यादी जीवन बीमा गर्ने समयमा बीमितको स्वास्थ्य स्थिति र उमेरको आधारमा बीमाशुल्क निर्धारण गरिन्छ । बिग्रँदो स्वास्थ्य अवस्था वा बढ्दो उमेरसँगै म्यादी जीवन बीमा गर्न कठिनाई हुने वा ज्यादै महँगो हुने सम्भावना पनि हुन्छ ।

लामो अवधिको लागी गरिने सावधिक बीमा योजनाको तुलनामा म्यादी जीवन बीमाको शुल्क ज्यादै न्यून हुन्छ । उदाहरणको लागी ३० वर्ष उमेरको यूवकले वार्षिक रु.३५०० भुक्तानी गरेरै रु. १० लाख बराबरको मृत्यु लाभ सुविधा भएको म्यादी बीमा खरिद गर्न सक्छन् ।

म्यादी जीवन बीमा योजनाको लागी अन्य विकल्पहरुः
स्थिर मृत्यु लाभ र घट्दो मृत्यु लाभ दुई थरी विकल्प म्यादी जीवन बीमा अन्तर्गत उपलब्ध हुन्छन् । स्थिर मृत्यु लाभमा बीमा अवधिभर मृत्यु लाभ जोखिम वापतको रकम समान रहन्छ, घटबढ हुँदैन । घट्दो मृत्यु लाभ विकल्प अन्तर्गत निश्चित अवधिपछि मृत्यु लाभ वापत भुक्तानीको रकम घट्दै जान्छ । नेपालमा प्रचलनमा रहेका बीमा योजनामा स्थिर मृत्यु लाभ सुविधा भएको म्यादी बीमा मात्र छन् ।
केही म्यादी बीमा योजनाहरुमा बीमाशुल्क क्रमशः वृद्धि हुँदै जाने प्रावधान पनि हुन्छन् । यसबारेमा तपाईले बीमा अभिकर्तासँग जानकारी लिएर वा आफ्नो बीमालेख राम्ररी पढेर सुनिश्चित गर्नुहोस् ।

केही म्यादी बीमाले कुनै पनि दाबी भुक्तानी नगरिएको अवस्थामा बीमा अवधिको समाप्तीपछि आंशिक वा सम्पूर्ण बीमाशुल्क फिर्ता गर्ने विकल्प पनि उपलब्ध गराएको हुन्छ । सामान्य खाले भन्दा बीमाशुल्क फिर्ता गर्ने सुविधा सहितको म्यादी बीमाको शुल्क केही महँगो हुन्छ ।

जीवन बीमा गर्नु परिवारको आर्थिक भविष्य सुनिश्चित गर्नु हो । म्यादी बीमाले तपाईको आवश्यक्ता पुरा गर्छ वा गर्दैन भन्नेबारेमा बीमा अभिकर्ता वा हाम्रो कार्यालयमा सम्पर्क गरेर जानकारी लिनुहोस् ।

सरल सुरक्षा (म्यादी)

सरल सुरक्षा (म्यादी) जीवन....